रसुवा जिल्लाको सदरमुकाम धुन्चेबाट २४ किमी दक्षिणपूर्व अर्थात् रसुवाको दक्षिणी सिमानामा पर्ने फलाँखु खोलादेखि उत्तरतिर अवस्थित लाम्चो र चेप्टो भूबनौटमा फैलीयेको साबिक धैबुङ गाउँ विकास समिति, लहरेपौवाको वडा नं ८ र राम्चे गाविस मिलेर बनेको मनोरम बस्ती नै कालिका गाउँपालिका हो | नेपालमा अन्य पहाडी भेगले ओगटेको गुण झैँ यसले पनि सम्पूर्ण गुण ओगटी प्राकृतिक हराभराले सुसज्जित भै रसुवाली मातृभूमिको उदरभित्र मस्तसँग पलेटी कसेर जनतालाई आश्रय दिइरहेको छ कालिका गाउँपालिका |
कालिका गाउँपालिका नुवाकोटसँग सिमाना जोडिएको फलाँखुखोला वा कुँडुल्ले फाँटदेखि सुरु भएर इटपारे, बेतीनी, कटुन्जे, कालिकास्थान, गोम्बोडाँडा हुदैँ राम्चेसम्म पश्चिम उत्तरतर्फ फैलिएको छ भने पूर्व उत्तरमा फलाँखुखोला, आम्बास, रुप्सेपानी, जिबजिबे, ज्याङलाङदेखि लोकिल सम्म फैलिएको छ |
साबिकको धैबुङ गाबिसको कार्यलयलाई केन्द्र तोकिएको यो गाउँपालिकाको क्षेत्रफल १२९.५४ वर्ग किमी रहेको छ |